Monday, June 9, 2008

चेतल्याण्ड साइबर काफे अपडेट "एक"

चेतल्याण्ड साइबर काफे खोलेको पनि झन्डै १५ दिनजति हुन लाग्यो। जुनको २८तारिखमा ओपन गरेको हाम्रो साइबर काफेमा भने अब केहि परिबर्तन आइसकेको छ। जम्मा ६वटा कम्प्युटर र एक सर्भरबाट सुरु भएको यो साइबर काफेमा अबचाँहि अलि मानिसहरुको आवतजावत बढ्न थालेको छ।

भक्तपुर सल्लाघारीमा राम्रो खालको सुबिधा भएका साइबर काफेहरुको अभाबले गर्दा सुरु गरेको हाम्रो चेतल्याण्ड साइबर काफे सोचेको जसरी सफलता हासिल गर्न सकेको छैन। हामीहरुले राम्रो र सुलभ सेवा उपलब्ध गराउनका लागी खोलिएको चेतल्याण्ड साइबर काफेमा बेलाबेलामा १-२ जना भन्दा ग्राहकहरु हुनुहुन्न। हाम्रो बहुत छिट्टो इन्टरनेट सेवा उपलब्ध भएपनि बिज्ञापनको अभाब भएको महसुस गरेका छौं।

बेलाबेलामा आएर हाम्रो सेवाहरुको प्रयोग गर्नुहुने ग्राहकहरुले यस्तो राम्रो र छिट्टो सर्भिस भएको साइबर काफेमा किन मानिसहरु नभएको होला अलि बिज्ञापन गर्नुस न भनिराख्नुभएको छ। ग्राहकको सन्तुष्टि हाम्रो उद्धेस्य र सफलताको सिदान्त बोकेको चेतल्याण्ड साइबर काफेमा दिनानु दिन प्रगति हुन्छ भन्ने बिश्वासका साथ राम्रो भन्दा अझ राम्रो सेवा पुर्याउनका लागि सदैब चेतनसिल र प्रयत्नसिल हुने पनि बिश्वास ब्यक्त गर्दै अर्को अपडेट सम्मको लागी यत्ति नै।

आउनुहोस, चलाउनुहोस र अनुभब गर्नुहोस।

Friday, June 6, 2008

सासु र बुहारी

सासु र बुहारीको कुरा गर्ने बित्तिकै सबैको नभएपनि महीलाहरुको ध्यानाकर्षण हुनु अनौठो कुरा हो जस्तो लाग्दैन। नेपाली समाजमा भनेको छोराहरुको बिबाह पश्चात पनि धेरै जना बुबामुमासँग नै बस्ने चलन छ। आफ्नो बुबामुमा आफ्नो छोरा सँगै बस्नु नराम्रो कुरा हैन तर बिबाह गरेर ल्याएको बुहारि भनेको जसले जे भनेपनि आफ्नो छोराछोरी भन्दा अलिक फरक नै हुन्छ होला जस्तो लाग्छ। अर्कै परिबारमा जन्मेर हुर्केर उमेर पुगेपछि बिबाहको माध्यमबाट एक परिबार हुन पुगेपछि बुहारीले भनेको आफ्नो श्रीमानको परिबारसँग नै जिबन बिताउनु पर्छ। फरक किसिमको पारिबारिक बाताबरणमा हुर्केर भिन्दै किसिमको माया र मान्यता पाएकी एक महिलाको बिबाह पश्चात भनेको अर्कै किसिमको मुल्य र मान्यता हुन्छ।

हुन त हाल नेपालको पनि परिबर्तन भइसकेको छ र नेपाली सासुबुहारीको मानसिकतामा पनि ठुलो परिबर्तन आईसकेको छ। राजनैतिक परिबर्तन, आर्थिक परिबर्तनको साथसाथै महीलाहरुको पनि सोचाईमा ठुलो परिबर्तन आईनै सकेको छ। महीला हक अधिकार संरक्षणको लागी बिभिन्न संघ संस्थाहरु दिनदिनै खुलिराखेका छन र सेवा पुय्राउदै पनि आइराखेका छन। धेरै ठुलो परिबर्तन भइसकेको छ र पनि हामीले पत्रपत्रिकामा हेर्ने र नियमकानुनमा पढे जसरि नै महीलाहरुले हक अधिकार चाँहि पाउन सकेका छैनन् भन्ने कुरा साँचो हो। दिनभरि खुल्लामञ्चमा महीला र पुरुष बराबर हुन भन्दै भाषण दिएर घर फर्कने नेताहरुका श्रिमतीहरुलाई हेर्ने हो भने उनिहरुले पनि जति अधिकार पाउनुपर्ने हो पाउन सकिराखेका छैनन्। कारणचाँहि एउटै नै हो, किताबी कानुन र मान्यता ब्यबहार सँग ठ्वाक्कै मेल खान सक्दैनन।

घरायसी कामहरु कपडा धुने, घर सफा गर्ने, खाना तयार गर्ने बारेमा श्रिमानले सघाउदैनन् भन्ने कुरा हैन एक बुहारि अर्थात श्रिमती अर्थात महिलाले समाजमा ठुलो मानसिक पिडा बोकेका हुन्छन। कुरा भनेको कुनै ठुलो कुनै सानो भन्ने हुदैंन। आ-आफ्नो क्षेत्रमा प्रत्येक कुरा ठुलो र मुल्यवान नै हुन्छ। बेलुका रक्सी पिएर घर आउने श्रिमानको अबस्थालाई हेरौ, ५बर्षको बच्चालाई चुरोट किन्न लगाएर खाटमा बसेर बच्चाको अगाडि चुरोट पिउने श्रिमानको अबस्थालाई हेरौ, छुट्टिको बेलामा बच्चाहरुसँग समय बिताउनु त परै जाओस दिनभरि सोफामा बसेर टेलिभिजन हेर्ने र बच्चाहरुलाई मात्र पढ भन्ने श्रिमानलाई हेर्दा श्रिमतीलाई कस्तो लाग्छ होला? त्यतिमात्र हैन ग्रामिण ईलाकामा हेर्ने हो भने अझै पनि कतिपय महिलाहरुले आफ्नो श्रिमानको कुटाईपिटाई खाएर पनि चुप लागी बस्नुपर्ने बाध्यता छ। २-४दिन अघि कुन पत्रिकामा हो आधा पेट खाएर बैबाहिक जिबन बिताएको ५ बर्ष भएकी एक महीलाको जिबनी पढेको थिए। हुन त ५ बर्ष हैन आर्थिक अबस्थाले गर्दा बाचुन्जेल सम्म आधा पेट खाएर जिबन गुजार्ने नेपाली पनि धेरै छन तर महीलाको र गरिबि दुई छुट्टा छुट्टै समस्याहरु हुन।

किताबका पानाहरु पढेर समानताका बयान अर्थात ब्याख्या गर्नुभन्दा हामी पुरुषहरुले एकपटक महीलाको मनभित्र पसेर सोच्यो भने कस्तो होला? महीलाहरुका पिडा र दु:खलाई प्रत्यक्ष अनुभुति नगरेसम्म उनिहरुलाई समानताको अधिकार दिन सकिन्छ होला र? खुल्लामञ्चमा भाषण दिन आउनु अगाडि बिहान श्रिमतीसँग १घण्टा गफ गर्नुस त; उनीको पिडा अर्थात दु:खहरु के हुन राम्रोसँग सोध्नुस त!

परिबर्तन भनेको पहिला मबाट सुरु हुनुपर्दछ। मेरो परिबारबाट सुरु हुनुपर्दछ। हामीबाट शुरु हुनुपर्दछ अनि देश परिबर्तन हुन्न र?

Thursday, June 5, 2008

जनता, समाजसेबी र राजनितिज्ञ

जनता :
रातभरीको चिसो हावा टिक्नलाई नै गाह्रो
जसरी नि बाच्नु नै छ जिन्दगी अप्ठ्यारो
पुर्बतिर उज्यालो हुन्छ बढ्दै जान्छन आशा
घाम पानी जे भएपनि सँधै बनाईदिन्छन निराशा।

समाजसेवी :
एकैछिनको घाम छाँया दिर्घकालिन केही छैन
कर्मलाई दोश दिदैंमा दु:ख कहीँ टर्दैन
अगाडि र पछाडि हेर्ने छैन हाम्रो बानि
माथि मात्रै हेर्ने अनि चैनमा नै ब्यस्त छौ हामी पनि।

राजनितिज्ञ :
पछिको दु:ख बिमार गर्दैनौं हामी बिचार
वास्ता केही राख्दैनौं घटनाबिचार अनि समाचार
हामी भन्या हामी नै हौं थाहा छैन नेपालीको कथा
कस्तो हुन्छ दु:ख पिडा थाहा छैन ब्यथा
चिन्नुहोस् अब हामीलाई हाम्रो नाउ हो नेपालका राजनैतिक नेता।
चिन्नुहोस् अब हामीलाई हाम्रो नाउ हो नेपालका राजनैतिक नेता।।

Tuesday, June 3, 2008

बाघले सिनो छोड्न सक्छ र?

केही बर्ष अघि एकजना राजनितिज्ञले दिएको भाषणको सम्झना आउछ। उनले भनेका थिए; बिरालोले मुसो छोड्ला, कुकुरले हड्डि छोड्ला, बाघले सिनो छोड्नसक्ला तर गिरिजाले प्रधानमन्त्रीको कुर्चि छोड्ने छैनन्।

बास्तबमा उनले ठिकै बोले भने जस्तो लाग्छ। देशमा बहुदलिय प्रजातन्त्र आएको पनि २दशक बितिसक्यो। जनताको बिश्वासले जिम्मेवारि बोक्न पुगेको नेपाली कांग्रेसको सरकार हुँदा पनि गिरिजा प्रशाद कोइराला प्रधानमन्त्री बने र अन्य पार्टीसँगको मिलिजुली सरकार बनाउदा पनि गिरिजा नै बारम्बार प्रधानमन्त्रीको पद ओगटिराखेका छन। उनको भाग्य भनौ या उनको योगदानको फल भनौ उनलाई मौकाहरु मिलिराखेका छन।

हाल जनताले बिश्वास दिएको सबैभन्दा ठुलो पार्टी माओबादी अरु राजनैतिक पार्टीहरुसँग सहमतिमा पुग्न नसकेका कारण अझै पनि नेपालका राष्ट्राध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका नेता गिरिजा प्रशाद कोइरालालाई नै छन। गिरिजाले पार्टी सहमति मिलाएर आएमा जहिल्यै पनि शक्ति हस्तान्तरण गर्न माओबादी लगाएत सम्पुर्ण पार्टीहरुला बताईराखेका नै छन। तर माओबादी नेता प्रचन्ड भने शक्ति हस्तान्तरण नगरे सडक आन्दोलनमा उत्रने चेतावानी दिइ नै राखेका छन।

हरुवा पार्टीहरुलाई सरकार बनाउने अधिकार छैन भन्दै अरु पार्टीहरुको आलोचना गरेर खुल्लामन्चमा उग्र भाषण दिने प्रचन्ड स्वंम चाँहि अरुहरुको सहमती जुटाउन नसक्ने, हाल जिम्मेवारी बोकिराखेका नेताहरुलाई छिट्टो शक्ति हस्तान्तरण गर्न दबाब दिइनै राख्छन भने कसले के गर्नु पर्ने हो हामी नेपाली जनताहरु बुझ्न सकिराखेका छैनौं।

के नेपाली कांग्रेसले थालमा भात पस्केर राखिदिएर माओबादीलाई भुजा लिनुहोस भन्ने आग्रह गर्नु पर्ने नै हो त? के गिरिजा प्रशाद कोइराला साच्चैका सिनो मात्र खाने बाघ नै हुन् त? प्रधानमन्त्रीको कुर्ची सिनो नभएर देशको जिम्मेवारी चाँहि सिनो हो भने के त्यो छोडेको राम्रो होला र?

शक्ति भनेको पनि सहमतीबाट नै उत्पन्न हुन्छ र सहमती भनेको चाँहि बार्ताले नै निम्त्याउने हैन र? No communication, no community. No community, no power.

Monday, June 2, 2008

को हुन नेपाली जनताहरु?

नेपाल सानो देश भएपनि आफ्नै खालको बिशिष्ट अस्तित्व र इतिहास बोकेको छ। बेलाबेलामा देशभित्रकै अहंकारी र हठ्ठी राजनितिज्ञ अर्थात शासकहरुले गर्दा दु:खकष्ठ भोग्दै आएको भएपनि नेपालले आजसम्म पनि अरु कुनै देशको कोलनी बन्नुपरेको छैन।



राणा शाषण, पंचायती शाषण, बहुदलिय प्रजातन्त्र जस्ता थुप्रै शाषण प्रणालीहरुका तितामिठा अनुभब लिईसकेका हामी नेपाली भर्खरै संघिय गणतन्त्रको पनि अनुभब गर्न पाएका छौं। तिनै नेपाली जनताहरु हुन जसले राणा शाषणको अन्त्य गर्न संघर्ष गरे र उनीहरुले आफ्नो बली नेपाल मात्रीभुमीलाई चढाएका थिए र आज पनि तिनै नेपाली जनताहरु हुन जसले राजतन्त्रको अन्त्य गरी संघिय गणतन्त्रको बिरुवा रोपिसकेका छन। तिनै नेपाली जनताहरु हुन जसले गणतन्त्रको बिरुवा रोपेर मलजलको लागि नेताहरुलाई सुम्पिदिएका छन र बिश्वास गरेका छन् कि एकदिन यो बिरुवा हुर्केर बढेर फुल्ने छ, मिठो बासना फिँजाउने छ र अन्तत फल्ने छ र त्यसको फल सम्पुर्ण नेपालीहरुले चाख्न पाउनेछन।



तर हाल हामी नेपाली जनताहरुले जिम्मेवारी दिएका ति नेताहरु एक आपसमा को ठुलो भन्दै घमण्डको दौड दौडिन सुरु गरेका छन। सहमतिमा गएर देशबिकाशमा लाग्ने भनेका माओबादी नेता प्रचण्ड राष्ट्रपति र प्रधानमन्त्री आफ्नो पार्टिलाई नदिए सडक आन्दोलनमा उत्रने दबाब दिएका छन। माओबादीको १० बर्ष भन्दा लामो जनयुद्धमा कयौं नेपालीका छोरा छोरीहरुले ज्यान गुमाएका छन। माओबादीको नाउमा कयौं घटना दुर्घटना घटेका छन र निर्दोशि तथा दोशि थुप्रैले आफ्नो ज्यान गुमाएका छन। अब फेरि प्रचण्डको सडक आन्दोलनमा उत्रने उग्र भाषणले प्रचण्ड त कतै दक्षिणकाली त हैनन भन्ने सोचाई आउन थालेको छ। जति भोग खाएपनि रातो जिब्रो निकालेर अझै बोका र राँगाहरुको अपेक्षा गर्ने दक्षिणकाली र प्रचण्डमा के फरक छ र? प्रचण्ड जी, तँपाई पनि एकपटक शान्तिका दुत बुद्ध भएर नेपाल र नेपालीलाई हेर्नुस त? कस्तो हुनेरहेछ आँसुले भिजेका आँखाहरु र कस्तो हुने रहेछ चोटले भरिएका मुटुहरु थाहा पाउनुहुनेछ।

Sunday, June 1, 2008

परिबर्तनको आवश्यकता

परिबर्तन भनेको क्षणक्षणमा हुने कुरा हो। आज जन्मेको बच्चा दिनदिनै अलि अलि बढ्दै गएर एकदिन जवान हुन्छ। समयले परिबर्तन गराएको भनौ अर्थात प्राक्रितिकले बनाएको भनौ। कतिपय कुराहरुको हामीले देख्नै नपाई, सुन्नै नपाई पनि परिबर्तन हुने गर्दछन्। खास गरि हामी मानब जाती झन परिबर्तनलाई चाहन्छौ। त्यसमा पनि हामी नेपाली त झनै।

धेरै कुराहरुको परिबर्तन भईसकेको छ र दिनदिनै भईराखेका छन। नेपालमा के ठुलो परिबर्तन भयो भनेर धेरैले प्रश्न उठाउन सक्नुहुन्छ। भत्केको सडक झन भत्केको छ। बनाएका भवनहरु भत्काइका छन। इतिहासिक बस्तुहरुको संरक्षण गर्नुको सट्टामा तोडिएका छन। के बिग्रेको छ र? राष्ट्रको सम्पति राष्ट्रको पैशाले बनाए भईहाल्छ नि? बिगारेका कुराहरु किन राष्ट्रको पैशाले बनाउने? नबनाए देखि पछि अरुले चाँहि के भत्काउने त? एउटा सरकारले बनाउने, अर्कोले आएर भत्काउने। यो क्रम त जारि नै हुनु पर्यो नि। नत्र नेताहरु के गरि बसुन। बिचरा उनिहरुलाई न त जागिर नै छ न त पेन्सन नै। आम्दानि पनि चाहियो, देखाउनु पनि त पर्यो नि। डर र त्राश देखाएर भएपनि एकपटक कुर्चिमा बस्न पाए त देशको नभएपनि आफ्नो त परिबर्तन हुने निश्चित नै छ नि, हैन र?

संघिय गणतान्त्रिक नेपालमा पनि आज नेपालीहरुलाई ठुलो परिबर्तन चाहिएको छ। अबको परिबर्तन भनेको सिंहदरबारको मर्मत हैन, पानी चुहिने झुपडीको छाना मर्मत गर्नु पर्ने छ। बुलेट प्रुफ गाडीहरुको खोजी हैन सर्बसाधरण नेपाली जनताहरु बस चढ्न सकाउनु पर्ने परिबर्तन चाहिएको छ। ढोकाको आग्लो दह्रो भयो कि भएन भनेर त्राशले भरिएका नेपालीहरुलाई ढोका खुल्ला गरी पनि आनन्दले सुत्न पाउन सक्ने गराउनु परेको छ। कतिबेला सिंदुर र पोते पुछ्नु पर्ने हो, कतिबेला कपाल खौरनु पर्ने हो भनेर त्राशले भरिएका नेपालीहरुलाई शान्तिको ढोका खुल्ला गरिदिनु पर्ने छ।

संघिय गणतान्त्रिक नेपालमा हामीले त्यस्तो आशा राखेका छौ र हाम्रो आशा पुरा होस् भन्ने पनि कामना गर्दछौं।

चेतल्याण्ड साइबर काफे, भक्तपुर सल्लाघारि तिनकुनेबाट।