Thursday, October 2, 2008

रमजान पर्व मनाइयो

काठमाडौं, असोज १६ गते । इस्लाम धर्मावलम्बीले आफ्नो महान चाड इदुल फित्र बिहीबार देशभरि मनाएका छन् ।

मुसलमान समुदायले एक महिनासम्म गरिने रमजान पर्वको उपवास सकेको भोलिपल्ट यो चाड मनाउने गर्छन् । इदको अर्थ खुसियाली हो र रमजान सम्पन्न भएको उपलक्ष्यमा खुसियाली मनाइएकाले यस चाडलाई इदुल फित्र भन्ने गरिएको हो ।

इदका दिन बिहानै नुहाएर नयाँ वस्त्र लगाई मुसलमानले इदगाह अथवा मस्जिद या खुला मैदानमा भेला भएर सामूहिक प्रार्थना गर्छन् । त्यसपछि एकअर्कालाई अंगालो मारेर इदको बधाई र शुभकामना आदानप्रदान गर्छन् ।

इदको विशेष परिकार सेबईका साथसाथै अन्य मिष्ठान्न भोजनद्वारा दिनभरि शुभकामना व्यक्त गर्न आउने पाहुनालाई स्वागत गरिन्छ ।

विपन्न, अशक्त, टुहुरा र असहाय व्यक्तिलाई दान दिएर यस चाडको खुसियालीमा सरिक हुने चलन छ ।

यस वर्ष सेप्टेम्बर १ तारिखदेखि एक महिनासम्मका लागि रमजान महिना सुरु भएको हो । एक महिना पूरा भए पनि चन्द्रमाको दर्शन नगरेसम्म पर्व जारी रहने नियम छ ।

मुस्लीम धर्मावलम्बीले यस पर्वभरि कम बोल्ने, झूठो नबोल्ने, अर्काको ईष्र्या नगर्ने, लोभ नगर्ने, अरूको हानि नपुर्‍याउने, कुरान पढ्ने गर्छन् ।

रमजान महिनालाई तीन भागमा विभाजन गरिएको छ । पर्वको तेस्रो भागलाई महत्वपूर्ण स्थान दिइएको छ । पर्वको तेस्रो भाग अर्थात् १० दिनसम्म समाजका कुनै एक व्यक्ति नजिकको मस्जिदमा लगातार १० दिनसम्म बस्छन् । नित्यकर्मबाहेक मस्जिदबाट बाहिर निस्कन पाउँदैनन् । समाजमा आउनसक्ने कुनै विपत्तिलाई समाप्त पार्न धार्मिक एवं मानवताको उद्देश्यसाथ मस्जिदमा बास गर्ने गरेको नेपाल मुस्लिम इत्तेहाद सङ्गठन झापाका पूर्वसचिव सादिक अन्सारीले बताउनुभयो ।

यस अवसरमा समाजका गरिबहरूलाई दान पनि दिइन्छ, जसलाई 'फिद्रा' भनिन्छ ।

आफ्नो परिवारका सदस्यको सङ्ख्यानुसार घरमूलीले प्रतिव्यक्ति दुई किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिबहरूलाई दान गर्नुपर्ने नियम छ । यो महिनामा धर्मावलम्बीले दिनको पाँचपटक नमाज पढ्छन् ।

रमजान महिनामा अल्लाहको आशीर्वाद प्राप्त हुने विश्वासका साथ मुस्लिम धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् ।

त्यसैगरी तनहुँ जिल्लामा रहेका इस्लाम धर्मावलम्बीले बिहीबार इद उल फित्र पर्व हर्षोल्लासमय वातावरणमा मनाए ।

तनहुँको दमौली, एतिस्वारा, पुर्कोट, भियाड, दुलेगौंडा, किहुँ, थप्रेक, भानु प्रसन्तपुर, चोक चिसापानीलगायतका गाविसमा रहेका मस्जिदहरूमा जम्मा भई मुसलमानहरूले इद पर्व मनाए ।

दमौली मुस्लिम सेवा समिद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा धर्मगुरु हाफिज आरिफ रजाले धार्मिक प्रवचन गरी सम्पूर्ण मुस्लिमलाई इदको नवाज पढाउनुभयो ।

यसैगरी उपराष्ट्रपति परमानन्द झाले मुसलमान समुदायको महान् पर्व इद -इदुल्ल फित्र)को अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

सन्देशमा उहाँले "विविधतामा एकता, नेपाली मात्रको विशेषता'को रूपमा हाम्रो क्षेत्र र जातिविशेषका विभिन्न चाडपर्व मनाउने क्रममा मुसलमान धर्मावलम्बीको महान् पर्व इद -इदुल्ल फित्र)को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदाय तथा नेपालभित्र रहेका यो पर्व मनाउने अन्य मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक शुभकामना व्यक्त गर्दछु" भन्नुभएको छ ।

यसैबीच नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व-इद -इदुल फित्र)को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना-इद मुबारक व्यक्त गर्नुभएको छ ।

यस उपलक्ष्यमा श्री कोइरालाले दिनुभएको शुभकामनामा हाम्रो देश एक नयाँ र गतिशील मोडमा आइपुगेको छ र आफ्नो देशको संविधान आफैंले निर्माण गर्न इतिहासले हामीलाई एक महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ भन्नुभएको छ ।

हाम्रो पारस्परिक एकता, आपसी मेलमिलाप र एकअर्काको सद्‍भावबाट यो जिम्मेवारीलाई वाञ्छित सफलतामा पुर्‍याउन सक्यौं भने मात्र विद्यमान अनेकौं समस्याको निराकरण गरेर नेपाललाई नयाँ, शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न सकिनेछ भन्दै सभापति कोइरालाले इदको यो पवित्र दिनले सबैमा यही प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

यो लेख गोरखापत्रबाट ल्याईएको कुरा अवगत गराउँदछु।

No comments: