Wednesday, May 6, 2009

टेप प्रकरण र सफाई

टेप प्रकरणपछि केही लडाकू नियन्त्रणमा 
  
काठमाडौं, २४ बैशाख

नेकापा (माओबादी) अध्यक्ष प्रचण्डले चितवनको शक्तिखोरस्थित माओवादी सेनाको शिविरमा गरेको भाषणको भिडियो टेप सार्वजनिक भएपछि माओवादी केन्द्रको निर्देशनमा केही माओवादी लडाकूलाई नियन्त्रणमा लिइएको छ । 

भिडियो प्रकरणपछि माओवादी सेनाका शिविरमा दुश्मनको मान्छेको प्रवेश भएको भन्दै माओवादीले त्यसबेला भिडियो खिच्ने युनिटदेखि शंकास्पद मानिएका केही माओवादी सेनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको माओवादी स्रोतले जानकारी दिएको छ । 

माओवादी जनसेनाका अन्य शिविरमा पनि यस्ता गतिविधि हुन सक्ने भन्दै सतर्कता अपनाएको बताइएको छ । माओवादी सेनाले पैसामा बिकेर उक्त टेप बेचेको निष्कर्ष निकाल्दै क्याम्पमा रहेका शंकास्पद लडाकूहरुमा पनि निगरानी शुरु गरेको बताइएको छ ।

यसैबीच मुलुकमा उत्पन्न असहज परिस्थितिपछि देशभरका माओवादी सेनाका क्याम्पमा रहेका बच्चा भएका महिला लडाकूलाई बिदामा घर पठाइउएको छ । उदयपुरको त्रिवेणी गाविसमा रहेको शिविरबाट सुत्केरी, गर्भवती र साना केटाकेटी भएका महिला छापामारलाई बिदामा पठाइएको छ भने अन्य शिविरबाट पनि त्यस्ता लडाकूलाई घरबिदा पठाउन शुरु गरिने बताइएको छ ।

नेपाल समाचारपत्र

चेतल्याण्डको भनाई: टेप प्रकरणले माओवादी पार्टीलाई कुनै असर नपार्ने बरु युद्धका बेलामा कसरी युद्ध गर्ने, कसरी मार्ने भन्ने बारेमा दिइएका प्रशिक्षणहरु अझ अरु पनि भएको र ति टेपहरुमध्ये केही पत्रकारहरुलाई दिन मन लागेको छ भन्दै ब्यङ्ग गर्दै माओवादी अध्यक्ष प्रचण्ड पत्रकार सम्मेलनमा भने तापनि आपत्ति त भएको नै छ नि। नत्र किन यसरी मेडियामा आक्रमण गर्न जानुपर्थ्यो र लडाकु कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइरहनु पर्थ्यो र? रुप र सार फरक भएको माओवादीको राजनीति कतिको सफल हुन्छ हेरौ नेपालमा!

No comments: