Wednesday, November 5, 2008

छिट्टै सुरु हुन्छ संविधान लेखन

काठमाडौँ, कात्तिक २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानसभा अब संविधान लेखन कार्यको थालनीको क्रममा पुगेको र अबको एकाध हप्तामा संविधान लेखन कार्यको थालनी हुने बताउनुभएको छ ।

नेपाल-जापान समन्वय परिषद्द्वारा राजधानीमा बुधबार आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले अब बन्ने संविधान परम्परागत र औपचारिकता मात्र पूरा गर्ने खालको नभई गाउँ, सहर तथा विभिन्न जातजाति र समुदायको अपेक्षा र भावना प्रतिविम्बित गर्ने होस् भन्ने चाहेको बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्रीले सबैलाई समेट्ने समावेशी संविधान बनाउने काम त्यति सहज नभएको उल्लेख गर्दै समावेशी संविधान निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वमा नेपालप्रतिको आकर्षण यति धेरै कहिले पनि नबढेको उल्लेख गर्दै नेपालप्रति विश्वको आँखा यति धेरै पर्नु नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि प्रेरणा र दबाब दुवै भएको बताउनुभयो ।

उहाँले नेपाल-जापानबीचको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट गर्दै नेपालको विकास र शान्ति प्रक्रियामा जापानले खुला हृदयले सहयोग गरेको र नयाँ नेपाल निर्माणमा आफूहरूले जापानबाट विगतको भन्दा अझ बढी सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सो कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई सो परिषदबाट प्रदान गरिएको सम्मान प्रधानमन्त्रीले प्रदान गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालमा विगतलाई हेर्ने हो भने राजनीतिक दलहरूको एकताले नै निकै ठूला अप्ठ्याराहरू पार लगाएको उल्लेख गर्दै अहिले पनि एकताबद्ध भएर समस्याहरूलाई किनारा लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले अहिले नेपालमा भएको परिवर्तन र शान्तिका लागि सबै क्षेत्रबाट बधाइको ओहिरो लागेको उल्लेख गर्दै अहिले नै आफूहरूले पूरै बधाई थाप्ने बेला नभइसकेको र तोकिएको मितिमा संविधान लेखन कार्य सम्पन्न भएमा मात्र पूर्णरूपमा बधाई थाप्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपालले आर्थिक कूटनीतिलाई सफल र सबल बनाई जलस्रोत, पर्यटन, व्यापार र श्रम शक्तिको उपयोगजस्ता क्षेत्रमा यसलाई प्रयोग गरिने पनि सो अवसरमा जानकारी गराउनुभयो ।

उहाँले विगतमा भएको जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनले देशलाई नयाँ युगमा प्रवेश गराएको र अहिले देश समावेशीकरणको दिशामा अगाडि बढेको बताउनुभयो ।

सो कार्यक्रममा नेपालका लागि जापानी राजदूत तात्सु मिजुनोले नेपाल अहिले नयाँ युगमा रहको र नेपालमा आर्थिक विकास र सम्मुन्नतिको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।


श्रोत : गोरखापत्र

No comments: