Wednesday, November 5, 2008

वाई.सी.एल र युथ फोर्सका कारण देश सङ्कटतर्फ

लम्की -कैलाली), कात्तिक १९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सेना समायोजन गर्न गठन गरिएको विशेष समिति नेकपा -माओवादी ले एकलौटी रूपमा गठन गरेकोले नेपाली काङ्ग्रेस त्यसमा बस्न नचाहेको बताउनुभएको छ ।

मङ्गलबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाईसीएल र युथ फोर्सका कारण देश सङ्कटमा जान लागिरहेको आरोप लगाउँदै ती सङ्गठनमाथि तत्काल नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

प्रेस युनियन लम्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले काङ्ग्रेस सरकारबाहिर बसेको भए पनि बाढीपीडितहरूको पुनःस्थापनाका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि कैलालीको नारायणपुर, धनसिंहपुरलगायतका बाढी प्रभावित गाविसको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा संसद्मा बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना, पुनः निर्माणका लागि प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव पारित भइसकेर पनि कार्यान्वयन नभएको बताउँदै आफू राजधानी फर्केर कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिनुभयो ।

बाढीपीडितका समस्याप्रति सरकार गम्भीर नभएको आरोप उहाँले लगाउनुभयो ।

श्रोत: गोरखापत्र

No comments: