Friday, June 6, 2008

सासु र बुहारी

सासु र बुहारीको कुरा गर्ने बित्तिकै सबैको नभएपनि महीलाहरुको ध्यानाकर्षण हुनु अनौठो कुरा हो जस्तो लाग्दैन। नेपाली समाजमा भनेको छोराहरुको बिबाह पश्चात पनि धेरै जना बुबामुमासँग नै बस्ने चलन छ। आफ्नो बुबामुमा आफ्नो छोरा सँगै बस्नु नराम्रो कुरा हैन तर बिबाह गरेर ल्याएको बुहारि भनेको जसले जे भनेपनि आफ्नो छोराछोरी भन्दा अलिक फरक नै हुन्छ होला जस्तो लाग्छ। अर्कै परिबारमा जन्मेर हुर्केर उमेर पुगेपछि बिबाहको माध्यमबाट एक परिबार हुन पुगेपछि बुहारीले भनेको आफ्नो श्रीमानको परिबारसँग नै जिबन बिताउनु पर्छ। फरक किसिमको पारिबारिक बाताबरणमा हुर्केर भिन्दै किसिमको माया र मान्यता पाएकी एक महिलाको बिबाह पश्चात भनेको अर्कै किसिमको मुल्य र मान्यता हुन्छ।

हुन त हाल नेपालको पनि परिबर्तन भइसकेको छ र नेपाली सासुबुहारीको मानसिकतामा पनि ठुलो परिबर्तन आईसकेको छ। राजनैतिक परिबर्तन, आर्थिक परिबर्तनको साथसाथै महीलाहरुको पनि सोचाईमा ठुलो परिबर्तन आईनै सकेको छ। महीला हक अधिकार संरक्षणको लागी बिभिन्न संघ संस्थाहरु दिनदिनै खुलिराखेका छन र सेवा पुय्राउदै पनि आइराखेका छन। धेरै ठुलो परिबर्तन भइसकेको छ र पनि हामीले पत्रपत्रिकामा हेर्ने र नियमकानुनमा पढे जसरि नै महीलाहरुले हक अधिकार चाँहि पाउन सकेका छैनन् भन्ने कुरा साँचो हो। दिनभरि खुल्लामञ्चमा महीला र पुरुष बराबर हुन भन्दै भाषण दिएर घर फर्कने नेताहरुका श्रिमतीहरुलाई हेर्ने हो भने उनिहरुले पनि जति अधिकार पाउनुपर्ने हो पाउन सकिराखेका छैनन्। कारणचाँहि एउटै नै हो, किताबी कानुन र मान्यता ब्यबहार सँग ठ्वाक्कै मेल खान सक्दैनन।

घरायसी कामहरु कपडा धुने, घर सफा गर्ने, खाना तयार गर्ने बारेमा श्रिमानले सघाउदैनन् भन्ने कुरा हैन एक बुहारि अर्थात श्रिमती अर्थात महिलाले समाजमा ठुलो मानसिक पिडा बोकेका हुन्छन। कुरा भनेको कुनै ठुलो कुनै सानो भन्ने हुदैंन। आ-आफ्नो क्षेत्रमा प्रत्येक कुरा ठुलो र मुल्यवान नै हुन्छ। बेलुका रक्सी पिएर घर आउने श्रिमानको अबस्थालाई हेरौ, ५बर्षको बच्चालाई चुरोट किन्न लगाएर खाटमा बसेर बच्चाको अगाडि चुरोट पिउने श्रिमानको अबस्थालाई हेरौ, छुट्टिको बेलामा बच्चाहरुसँग समय बिताउनु त परै जाओस दिनभरि सोफामा बसेर टेलिभिजन हेर्ने र बच्चाहरुलाई मात्र पढ भन्ने श्रिमानलाई हेर्दा श्रिमतीलाई कस्तो लाग्छ होला? त्यतिमात्र हैन ग्रामिण ईलाकामा हेर्ने हो भने अझै पनि कतिपय महिलाहरुले आफ्नो श्रिमानको कुटाईपिटाई खाएर पनि चुप लागी बस्नुपर्ने बाध्यता छ। २-४दिन अघि कुन पत्रिकामा हो आधा पेट खाएर बैबाहिक जिबन बिताएको ५ बर्ष भएकी एक महीलाको जिबनी पढेको थिए। हुन त ५ बर्ष हैन आर्थिक अबस्थाले गर्दा बाचुन्जेल सम्म आधा पेट खाएर जिबन गुजार्ने नेपाली पनि धेरै छन तर महीलाको र गरिबि दुई छुट्टा छुट्टै समस्याहरु हुन।

किताबका पानाहरु पढेर समानताका बयान अर्थात ब्याख्या गर्नुभन्दा हामी पुरुषहरुले एकपटक महीलाको मनभित्र पसेर सोच्यो भने कस्तो होला? महीलाहरुका पिडा र दु:खलाई प्रत्यक्ष अनुभुति नगरेसम्म उनिहरुलाई समानताको अधिकार दिन सकिन्छ होला र? खुल्लामञ्चमा भाषण दिन आउनु अगाडि बिहान श्रिमतीसँग १घण्टा गफ गर्नुस त; उनीको पिडा अर्थात दु:खहरु के हुन राम्रोसँग सोध्नुस त!

परिबर्तन भनेको पहिला मबाट सुरु हुनुपर्दछ। मेरो परिबारबाट सुरु हुनुपर्दछ। हामीबाट शुरु हुनुपर्दछ अनि देश परिबर्तन हुन्न र?