विश्व शक्तिकेन्द्र संयुक्तराज्य अमेरिकाको चवालिसौं राष्ट्रपति पदको निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयी डेमोक्र्याट पार्टीका बाराक ओवामा र निकटतम प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका जोन म्याक्केनले गरेका भाषण संसारभर चर्चाका विषय रहे । ती भाषण नेपालजस्तो समस्याग्रस्त, गरिब र सङ्क्रमणकालको कठिन मोडमा खडा भएको मुलुकका नेताहरुलाई साँच्चै शिक्षाप्रद हुनसक्छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि ओबामाले आफ्ना प्रतिद्वन्द्वीको निस्वार्थी र साहसी नेता भनेर मुक्त कण्ठले प्रसंसा गरे । जिम्मेवारी काँधमा आएपछि सबैको सहयोग जुटाउनु पर्ने भएकोले उनले त्यस्तो अभिव्यक्ति दिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर पराजयको पीडा भुल्दै म्याक्केनद्वारा अभिव्यक्त विचारले भने सबैलाई सोच्न बाध्य तुल्याएको छ । उनले ओबामाको मुक्तकण्ठले प्रशंसा गर्दै अमेरिकाले उनीमाथि गर्व गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । त्यो उच्च राजनीतिक, सांस्कृतिक द्योतक हो ।
हामीकहाँ संविधानसभाको निर्वाचन भएको सात महिना पूरा हुनलागेको छ । यति समय वितिसक्दासम्म निर्वाचनको सन्दर्भमा प्रतिद्वन्द्वीबीच बसेको तुस भेटिएको छैन । चुनाव पराजयबाट लागेको घाउ वर्षौसम्म भुल्न नसक्ने अल्पविकसित मुलुकका राजनीतिज्ञले मेक्केनबाट पाठ सिक्नै पर्छ । हुनत ओबामा र म्याक्केन दुवैका अभिव्यक्ति औपचारिकता पूरा गर्ने ध्येयबाट व्यक्त भएका हुन् । तर तिनले प्रवाह गर्ने सन्देशको महìव असीमित छ । हरदम आग्रह पूर्वाग्रहलाई केन्द्र मानेर राजनीति गर्ने नेपालका राजनीतिक पार्टीहरुलाई अमेरिकी निर्वाचनले त्यति महìव नराख्ला तर नाराको घेराबाट माथि उठेर देश र जनताको हितका लागि केही गर्छु भन्ने संकल्प गर्ने हो भने त्यसलाई महìवपूर्ण पाठको रुपमा ग्रहण गर्नुपर्छ ।
चुनाव जितेपछि जित्नेले मैमत्त भएर विरोधीको पत्तासाफ भएको दाबी गर्दै अहंकार प्रदर्शन गर्ने र हार्नेले धाँधली गरेको आरोप लगाउने परम्परामा अभ्यस्त हामी नेपालीका लागि पनि त्यो घटना उदाहरणीय भएको छ । अमेरिकालाई साम्राज्यवादी भनेर त्यसका हरपक्षको खेदो खन्ने हामीले सिक्नुपर्ने र आत्मसात् गर्नुपर्ने थुपै्र कुरा रहेछन् भन्ने यो चुनावले देखाइदिएको छ । हुनत सकारात्मक पक्ष सबैमा निहित हुन्छ तर हामी नराम्रा कुरा तत्काल टिप्छौं, त्यसको नक्कल पनि गर्छौं, सकारात्मक पक्षलाई चाहिँ वास्तै गर्दैनौं । यो हाम्रो पुरानो रोग हो । यसलाई उपचार गरेर निको नपारी हामी जस्तासुकै नारा लाए पनि जति क्रान्तिकारी भाषण गरे पनि पटक्कै अघि बढ्न सक्दैनौं ।
अमेरिकी चुनावपछि दुई मुख्य प्रतिस्पर्धीले देखाएको व्यवहारबाट हाम्रा पार्टी र नेताले सिक्ने धेरै कुरा छन् । सबभन्दा पहिले तिनले राजनीति संस्कार र संस्कृकति सिक्नुपर्छ । राजनीति भनेर श्रेष्ठ नीति हो, सभ्य, सुसंस्कृत र धैर्य नभएको व्यक्तिको हातमा नेतृत्व जाँदा त्यसले विनाश निम्त्याउँछ । त्यसको विपरीत सहनशील, योग्य र सक्षम नेतृत्वले राजनीति सञ्चालनको जिम्मा पाउँने हो भने पछौटे मुलुकलाई पनि उन्नतिको सिखर छुन समय लाग्दैन ।
राजनीतिलाई सधैँ वाद, विचार र सिद्धान्तको घेरामा सीमित राख्ने हामीले कहिल्यै मूल्यको राजनीति गरेनौं । मूल्यबोधको अभावमा वाद, सिद्धान्त, विचार जस्ता कुरा फगत आडम्बरयुक्त फोस्रा नारामा सीमित भए । कुनै पनि वादको प्रयोजन देखिएन । सत्ता प्राप्त गर्ने अस्त्रको रुपमा तिनलाई प्रयोग गरियो । तर व्यवहारमा जाँचेर त्यसको औचित्य साबित गर्ने प्रयास गरिएन ।
रुढीवादी परम्पराले गर्दा राजनीतिक दलहरु दूरदर्शी, समयसापेक्ष र परिणाममुखी बाटोतर्फ अग्रसर हुन सकेनन् । गतिशीलतालाई लत्याएर जडसूत्रवादलाई समात्दाको परिणाम मुलुकले अहिले भोगिरहेको छ । यदि यो बाटो परिवर्तन नगर्ने हो भने हामी युगयुगसम्म संस्कारहीनताको सिकार हुनेछौं । गरिबी, अभाव र बेरोजगारी हाम्रो पर्याय बन्नेछ ।
यो हालतबाट माथि उठ्न पनि अमेरिकी निर्वाचनबाट हाम्रा नेताहरुले पाठ सिक्नु जरुरी छ । चुनाव हारेपछि म्याक्केनले ओवामालाई पूर्णरुपले सहयोग गर्ने वचन दिएका छन् । संविधान बनाउने जस्तो कुरामा अनावश्यक विवाद गरेर समय बर्बाद गर्ने हाम्रा लागि त्यो एउटा हाँक जस्तो लाग्छ ।
हामी राजनीतिलाई स्वस्थ, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउने दिशामा कहिल्यै अग्रसर भएनौं । षड्यन्त्र, जालझेल, र खुराफात गरेर पद हासिल गर्नुलाई राजनीतिको धर्म ठान्ने हाम्रा लागि अमेरिकाको त्यो निर्वाचन एउटा गतिलो शिक्षा हुनसक्छ ।
हाम्रा नेताहरुले अमेरिकाको निर्वाचनबाट सिक्नुपर्ने अर्को पाठ हो । मुलुकको उन्नति र संवृद्धिलाई राजनीतिबाट अलग राख्नुपर्ने कुरा राष्ट्रियता, प्रजातन्त्र, मानवअधिकार र मुलुकको सर्वतोमुखी विकासका मुद्दा सबैका साझा हुन्छन् । तिनलाई दलीय स्वार्थको दलदलबाट निकाल्नै पर्छ ।
मुलुकको हितको सवालमा सबै भारतीयहरु एक हुन्छन् । राष्ट्रियताको विषयमा चिनियाहरु एकमत हुनसक्छन् तर हामी त्यसमा पनि दलीय स्वार्थ घुसाउँछौं । दलीय स्वार्थको सिकार भएर नै मुलुक आर्थिक विकासमा पछि परेको हो । हाम्रो गरिबीको कारण हामै्र राजनीतिमा निहित छ । शान्ति प्रक्रिया समयमै पूरा गर्ने हो, निर्धारण अवधिमै संविधान निर्माण गर्ने हो, कङ्गाल, मुलुकलाई समृद्धिको शिखरमा पुर्याउने हो र जनताका अधिकार सुनिश्चत गरेर तिनलाई पनि यो महायज्ञमा सामेल गराउने हो भने हाम्रा नेताहरुले अमेरिकाको चुनावबाट पाठ सिक्नै पर्छ ।
के कुरामा असहमति राख्ने र असहमतिलाई कुनै बेला प्राथमिकता दिने, सहमतिका विषय के हुन् र तिनलाई कुन समयमा कसरी अघि बढाउनुपर्छ भन्ने ज्ञान शान्ति प्रक्रियामा रहेको हाम्रो मुलुकका नेतालाई अमेरिकी निर्वाचनले राम्ररी दिनसक्छ ।
हामी आर्थिक रुपले जति गरिब छौं सांस्कृतिक रुपले पनि त्यति नै दरिद्र देखिएका छौं । सामाजिक, राजनीतिक र सांस्कृतिकस्तर उठाएर मात्र हामीले समृद्धि हासिल गर्न सक्छौं । मुलुकको उन्नतिका लागि योजना, नीति कार्यक्रमको जति आवश्यकता पर्छ त्यसलाई कार्यान्वयन गर्न समझदारी र सुझबुझको पनि त्यति नै खाँचो पर्छ ।
-प्रभुनारायण बस्ने
श्रोत: विचार विवेचन, गोरखापत्र
चेतल्याण्डको विचार
बास्तबमा नेपाली राजनितिज्ञहरु पनि नेपाली नागरिक नै हुन् तर यिनीहरुले अमेरिकाको शैली र सिद्धान्तबाट केही नसिके पनि नेपाली जनताबाट नै सिक्नुपर्ने कुराहरु धेरै छन्। हिजो राणाशाषणको बिरुद्धमा उत्रि बिजय हासिल गर्ने हामी नेपाली नै पंचायत शाषनलाई छेउ लगाएर बहुदलिय प्रजातन्त्रको स्थापना गर्दै सयौं बर्षे पुरानो शाहबंशिय शाषनको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्न सफल भएका छौ जुन युद्ध नेपाली जनताको हित र नेपालको संरक्षणको लागी भएको हो र हुने पनि छ। नेपाली जनतालाई नेपालको त्यती माया र ममता छ भने नेपाली प्रतिनिधिहरु किन अझै पनि घमण्डमा नै रुमलिरहेका होलान्?