Wednesday, October 15, 2008

शान्ति भए पुजी भित्रिन्छ

काठमाडौं, असोज २९ गते । परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादी जनसेनालाई नेपाली राष्ट्रिय सेनामा समायोजन नगरी दोस्रो माध्यमबाट व्यवस्थापन गरिनुपर्ने धारणा राख्नुभएको छ ।

संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको मदरल्यान्ड नेपाल नामक संस्थाले बुधबार काठमाडौंमा आयोजना गरेको 'शान्ति निर्माण प्रक्रियामा प्रवासी नेपालीको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले दिगो शान्ति स्थापना निम्ति माओवादी सेनाको व्यवस्थापन छिटो गरिनुपर्ने आवश्यकता रहेको औंल्याँउदै राजनीतिक लक्ष्यका लागि तयार गरिएको माओवादी सेनालाई राष्ट्रिय सेनामा मिसाउँदा अन्तर्राष्ट्रियस्तरमा नै शङ्का उत्पन्न गर्ने हुँदा अन्य विकल्पहरु खोजी व्यवस्थापन गरिनुपर्दछ भन्नुभयो ।
उहाँले भन्नुभयो- माओवादी जनसेनालाई अवसरहरु उपलब्ध गराउनुपर्दछ । पढ्न चाहनेलाई निःशुल्क शिक्षाको व्यवस्था र वैदेशिक रोजगारीमा जान चाहनेलाई निःशुल्क प्राविधिक तालिम उपलब्ध गराएर रोजगारीमा पठाउने व्यवस्था मिलाउँदै व्यवस्थापन गरिनुपर्दछ भन्ने मेरो मान्यता हो । त्यसका अलवा औद्योगिक सुरक्षा बल निर्माण गरेर पनि व्यवस्थापन गर्न सकिन्छ । सक्षम र मापदण्डभित्र परेकाहरुलाई भने नेपाली सेनामा पनि लान सकिन्छ तर समायोजन भनेर सबैलाई लगिनु हुँदैन ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा माओवादी जनसेनालाई राष्ट्रिय सेनामा नमिलाई समायोजन गरिने धारणा राख्नुभएको जनाउँदै मन्त्री यादवले नेपाली सेनाको विश्वसनीयता कायम गराउन पनि माओवादी सेनालाई राष्ट्रिय सेनामा मिसाउन नहुने बताउनुभयो ।

सोही अवसरमा उहाँले नेपाल सम्पन्न भए मात्र प्रवासी नेपालीहरुको पनि विदेशमा इज्जत हुने बताउँदै नेपालमा पूँजी र प्रविधिको अभाव रहेको हुनाले प्रवासी नेपालीहरुले समृद्ध नेपाल निर्माणका लागि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन द्वन्द्व व्यवस्थापन र आर्थिक विकासको प्रक्रियालाई एकैसाथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले समृद्ध लोकतान्त्रिक नेपाल भनेको पूर्ण सुरक्षाको प्रत्याभूतिसहितको आर्थिक तथा सामाजिक विभेदरहित नेपाल हो भन्नुभयो ।

'चन्दा आतङ्क, धाक धम्की, लुटपाट तथा हत्या, हिंसा रहेसम्म शान्ति स्थापना भएको मान्न सकिंदैन । हामी सबै असुरक्षाको वातावरणको अन्त्य सागै आर्थिक विकास चाहन्छौं र विदेशीले पनि प्रजातान्त्रिक र समृद्ध नेपाल हेर्न चाहेका छन् । शान्ति स्थापना नभएसम्म विदेशी पूँजी भित्रने सम्भावना नहुने हुँदा प्रवासी नेपालीहरूले पनि शान्ति स्थापना र आर्थिक विकासका साथै संविधान निर्माणका लागि सहयोग गर्नुपर्दछ, उहाँले भन्नुभयो ।

शान्ति स्थापना भएमा आर्थिक क्रान्तिका लागि समय नलाग्ने जनाउदै परराष्ट्रमन्त्री यादवले सशस्त्र क्रान्तिमा लागेकाहरुलाई शान्ति प्रक्रियामा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले विदेशमा पनि प्रवासी नेपालीहरूले आफ्नो संस्कृतिको संरक्षण निम्ति विभिन्न कार्यहरु गरिरहेको बताउँदै प्रवासी नेपालीहरु नेपालको समृद्धि निम्ति कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।

विदेशबाट नेपालीहरूले पठाएको रेमिट्यान्सलाई व्यवस्थित रुपमा राष्ट्रनिर्माण निम्ति प्रयोग गर्न नया व्यवस्था गर्न प्रधानमन्त्रीसाग सल्लाह परामर्स गरिएको जनाउदै उहाँले द्वन्द्वपीडित तथा प्राकृतिक प्रकोपबाट पीडितहरुका निम्ति मदरल्यान्ड नेपालले सहयोग गर्दै आएको बताउनुभयो ।

श्रोत : गोरखापत्र

चेतल्याण्डको विचार:
नेपाल राष्ट्रको सुरक्षाको लागी कसम खाएर नेपाली सेनामा भर्ती भएका सेनाहरुले त क्याम्पभित्र आन्दोलन मच्चाउने जस्ता अनैतिक र लाजमर्दो ब्यबहार देखाउन लागेका छन् भने राजनैतिक कारणले आफ्नो पार्टीलाई मजबुद बनाउन लागेका माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने हो भने ती माओवादी सेनाले आफ्नो पार्टीको सुरक्षा गर्लान की देश र जनताको सुरक्षा गर्लान भन्ने शङ्का लाग्नुका साथसाथै अझै पनि हिजोको नै ब्यबहार देखाइराखेका माओवादी सेना लगायत वाइ सि एललाई राष्ट्रको जिम्मा दिनु हुन्न भन्ने लाग्छ।

जिम्मेवारी दिने हैन

परिवर्तन आईसकेको छ, प्रजातन्त्र आईसकेको छ
गणतन्त्र आईसकेको छ, राष्ट्रपती भईसकेको छ।
हराउने हराईसकेका छन्, ज्यान गुमाउनेले गुमाईसकेका छन्
भागबण्डा भईसकेका छन्, कुर्ची घुमाईसकेका छन्।

अब त आउना बाँकी हैन हुन बाँकी छन्
जनताहरु लडेर, भिडेर र रोएर थाकिसकेका छन्।
अब त प्रगती र विकाश हुनुपरेको छ
काला, मैला र धमिला नितीहरुलाई सफासँग धुनुपरेको छ।

अब त बाटोघाटो र पिउने पानीको खाँचो छ
आउनुहोस, अगाडि बढौं, ढोका खोल्न लिनुपर्छ साचो।
जिम्मेवारी दिने हैन लिने व्यक्तिको खाँचो छ
तपाई हामीले गर्‌यौं भने विकाश हैन अति बिकाश हुने कुरा साँचो छ।
हाँसौं र हसाऔं भन्ने अभियानले बढौं अगाडि
झन झन तिब्र गतीमा बढौं अगाडि, छैन फाईदा फर्की फर्की हेरेर पछाडि।।