Saturday, October 4, 2008

सहमति र सहकार्य अझै फराकिलो पार्नु पर्ने

काठमाडौं, असोज १७ गते । नेपाल कम्युनिस्ट पार्टी -माले)का स्थायी कमिटि सदस्य केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र नयाँ संविधान निर्माण गर्न सहमति र सहकार्यलाई अझै फराकिलो बनाउनुपर्ने बताउनुभएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता ओलीले सरकारको नेतत्व गरिरहेको र संविधानसभामा सबैभन्दा ठूलो दल रहेको नेपाल कम्युनिस्ट पार्टी -माओवादी)ले त्यसका लागि पहल गर्नुपर्छ भन्नुभयो ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कक्षमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता ओलीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अझै पनि प्रयास गर्नुपर्छ र मतभिन्नताको खाडललाई पुर्दै नयाँ संविधान निर्माणमा जुट्नुपर्छ भन्नुभयो ।

"नेकपा -माओवादी) सहमतिमा र्फकन चाहन्छ कि चाहादैन, नयाँ संविधान बनाउन चाहिरहेको छ कि छैन" भन्दै नेता ओलीले जनगणतन्त्रको नाममा पोलपोटीय शासन व्यवस्था एमालेलाई स्वीकार नहुने धारणा राख्नुभयो ।

जनगणतन्त्रको शाब्दिक अर्थप्रति कुनै आपत्ति छैन तर त्यो व्यवस्थाको प्रारुप के हो ? त्यसमा प्रेस स्वतन्त्रता, जनताका मौलिक हक, आवधिक निर्वाचन, बहुदलीय प्रतिस्पर्धा मानव अधिकार, सङ्गठन खोल्ने स्वतन्त्रता हुन्छ कि हुँदैन त्यसबारेमा स्पष्ट धारणा आउनुपर्ने विचार पनि नेता ओलीको छ ।

शिविरमा रहेका माओवादी जनमुक्ति सेनाको समायोजन र पुनस्र्थापना दलहरूबीचको सहमति, शान्ति सम्झौता अनुसार हुने तर राष्ट्रिय सेनाको पुनर्गठन गरेर नयाँ राष्ट्रिय सेना गठन हुन सक्दैन भन्दै पूर्व गृहमन्त्रीसमेत भइसक्नु भएका नेता ओलीले भन्नुभयो- सेनासम्बन्धी विषय संवेदनशील छ, यसमा दलीय स्वार्थलाई माथि राखेर हेरिनु हुन्न ।

सरकारको नेतृत्वमा पुगेपछि नेकपा-माओवादी)ले राष्ट्रिय सुरक्षा संयन्त्र र कर्मचारीतन्त्रलाई विश्वासमा लिएर काम गर्नुपर्छ र विद्रोही हुँदाको जस्तो व्यवहार गर्न नहुने विचार व्यक्त गर्दै नेता ओलीले संविधानसभा हतियार बोकेर जाने ठाउँ नभई बहस गरेर संविधान बनाउने थलो हो, भन्नुभयो ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन अब नेकपा -माओवादी) मात्र होइन हिंसारत सबै पक्षलाई वार्तामा ल्याउनु जरुरी छ, भन्दै लोकतान्त्रिक संविधान निर्माणका लागि सहज वातावरण बनाउने जिम्मेवारी माओवादीको काँधमा रहेको धारणा पनि नेता ओलीको छ ।

विगतमा भएका सहमति र सम्झौताको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेकपा -माओवादी)का नेता तत्पर हुनुपर्छ भन्दै नेता ओलीले गैर कानुनी ढङ्गले कब्जा गरिएका घर जग्गा तुरुन्त फिर्ता हुनुपर्छ भन्नुभयो ।

सङ्क्रमणकालीन अवस्थाको शान्ति सुरक्षा व्यवस्थित गर्नु जटिल कार्य हो भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले गर्नुभएको प्रयास सन्तोषजनक भएको नेता ओलीले बताउनुभयो ।


श्रोत: गोरखापत्र