Monday, November 10, 2008

अमेरिकी निर्वाचनबाट सिक्नुपर्ने पर्ने

विश्व शक्तिकेन्द्र संयुक्तराज्य अमेरिकाको चवालिसौं राष्ट्रपति पदको निर्वाचन परिणाम सार्वजनिक भएपछि विजयी डेमोक्र्याट पार्टीका बाराक ओवामा र निकटतम प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका जोन म्याक्केनले गरेका भाषण संसारभर चर्चाका विषय रहे । ती भाषण नेपालजस्तो समस्याग्रस्त, गरिब र सङ्क्रमणकालको कठिन मोडमा खडा भएको मुलुकका नेताहरुलाई साँच्चै शिक्षाप्रद हुनसक्छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि ओबामाले आफ्ना प्रतिद्वन्द्वीको निस्वार्थी र साहसी नेता भनेर मुक्त कण्ठले प्रसंसा गरे । जिम्मेवारी काँधमा आएपछि सबैको सहयोग जुटाउनु पर्ने भएकोले उनले त्यस्तो अभिव्यक्ति दिनुलाई स्वाभाविक मान्न सकिन्छ । तर पराजयको पीडा भुल्दै म्याक्केनद्वारा अभिव्यक्त विचारले भने सबैलाई सोच्न बाध्य तुल्याएको छ । उनले ओबामाको मुक्तकण्ठले प्रशंसा गर्दै अमेरिकाले उनीमाथि गर्व गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । त्यो उच्च राजनीतिक, सांस्कृतिक द्योतक हो ।

हामीकहाँ संविधानसभाको निर्वाचन भएको सात महिना पूरा हुनलागेको छ । यति समय वितिसक्दासम्म निर्वाचनको सन्दर्भमा प्रतिद्वन्द्वीबीच बसेको तुस भेटिएको छैन । चुनाव पराजयबाट लागेको घाउ वर्षौसम्म भुल्न नसक्ने अल्पविकसित मुलुकका राजनीतिज्ञले मेक्केनबाट पाठ सिक्नै पर्छ । हुनत ओबामा र म्याक्केन दुवैका अभिव्यक्ति औपचारिकता पूरा गर्ने ध्येयबाट व्यक्त भएका हुन् । तर तिनले प्रवाह गर्ने सन्देशको महìव असीमित छ । हरदम आग्रह पूर्वाग्रहलाई केन्द्र मानेर राजनीति गर्ने नेपालका राजनीतिक पार्टीहरुलाई अमेरिकी निर्वाचनले त्यति महìव नराख्ला तर नाराको घेराबाट माथि उठेर देश र जनताको हितका लागि केही गर्छु भन्ने संकल्प गर्ने हो भने त्यसलाई महìवपूर्ण पाठको रुपमा ग्रहण गर्नुपर्छ ।

चुनाव जितेपछि जित्नेले मैमत्त भएर विरोधीको पत्तासाफ भएको दाबी गर्दै अहंकार प्रदर्शन गर्ने र हार्नेले धाँधली गरेको आरोप लगाउने परम्परामा अभ्यस्त हामी नेपालीका लागि पनि त्यो घटना उदाहरणीय भएको छ । अमेरिकालाई साम्राज्यवादी भनेर त्यसका हरपक्षको खेदो खन्ने हामीले सिक्नुपर्ने र आत्मसात् गर्नुपर्ने थुपै्र कुरा रहेछन् भन्ने यो चुनावले देखाइदिएको छ । हुनत सकारात्मक पक्ष सबैमा निहित हुन्छ तर हामी नराम्रा कुरा तत्काल टिप्छौं, त्यसको नक्कल पनि गर्छौं, सकारात्मक पक्षलाई चाहिँ वास्तै गर्दैनौं । यो हाम्रो पुरानो रोग हो । यसलाई उपचार गरेर निको नपारी हामी जस्तासुकै नारा लाए पनि जति क्रान्तिकारी भाषण गरे पनि पटक्कै अघि बढ्न सक्दैनौं ।

अमेरिकी चुनावपछि दुई मुख्य प्रतिस्पर्धीले देखाएको व्यवहारबाट हाम्रा पार्टी र नेताले सिक्ने धेरै कुरा छन् । सबभन्दा पहिले तिनले राजनीति संस्कार र संस्कृकति सिक्नुपर्छ । राजनीति भनेर श्रेष्ठ नीति हो, सभ्य, सुसंस्कृत र धैर्य नभएको व्यक्तिको हातमा नेतृत्व जाँदा त्यसले विनाश निम्त्याउँछ । त्यसको विपरीत सहनशील, योग्य र सक्षम नेतृत्वले राजनीति सञ्चालनको जिम्मा पाउँने हो भने पछौटे मुलुकलाई पनि उन्नतिको सिखर छुन समय लाग्दैन ।

राजनीतिलाई सधैँ वाद, विचार र सिद्धान्तको घेरामा सीमित राख्ने हामीले कहिल्यै मूल्यको राजनीति गरेनौं । मूल्यबोधको अभावमा वाद, सिद्धान्त, विचार जस्ता कुरा फगत आडम्बरयुक्त फोस्रा नारामा सीमित भए । कुनै पनि वादको प्रयोजन देखिएन । सत्ता प्राप्त गर्ने अस्त्रको रुपमा तिनलाई प्रयोग गरियो । तर व्यवहारमा जाँचेर त्यसको औचित्य साबित गर्ने प्रयास गरिएन ।

रुढीवादी परम्पराले गर्दा राजनीतिक दलहरु दूरदर्शी, समयसापेक्ष र परिणाममुखी बाटोतर्फ अग्रसर हुन सकेनन् । गतिशीलतालाई लत्याएर जडसूत्रवादलाई समात्दाको परिणाम मुलुकले अहिले भोगिरहेको छ । यदि यो बाटो परिवर्तन नगर्ने हो भने हामी युगयुगसम्म संस्कारहीनताको सिकार हुनेछौं । गरिबी, अभाव र बेरोजगारी हाम्रो पर्याय बन्नेछ ।

यो हालतबाट माथि उठ्न पनि अमेरिकी निर्वाचनबाट हाम्रा नेताहरुले पाठ सिक्नु जरुरी छ । चुनाव हारेपछि म्याक्केनले ओवामालाई पूर्णरुपले सहयोग गर्ने वचन दिएका छन् । संविधान बनाउने जस्तो कुरामा अनावश्यक विवाद गरेर समय बर्बाद गर्ने हाम्रा लागि त्यो एउटा हाँक जस्तो लाग्छ ।

हामी राजनीतिलाई स्वस्थ, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउने दिशामा कहिल्यै अग्रसर भएनौं । षड्यन्त्र, जालझेल, र खुराफात गरेर पद हासिल गर्नुलाई राजनीतिको धर्म ठान्ने हाम्रा लागि अमेरिकाको त्यो निर्वाचन एउटा गतिलो शिक्षा हुनसक्छ ।

हाम्रा नेताहरुले अमेरिकाको निर्वाचनबाट सिक्नुपर्ने अर्को पाठ हो । मुलुकको उन्नति र संवृद्धिलाई राजनीतिबाट अलग राख्नुपर्ने कुरा राष्ट्रियता, प्रजातन्त्र, मानवअधिकार र मुलुकको सर्वतोमुखी विकासका मुद्दा सबैका साझा हुन्छन् । तिनलाई दलीय स्वार्थको दलदलबाट निकाल्नै पर्छ ।

मुलुकको हितको सवालमा सबै भारतीयहरु एक हुन्छन् । राष्ट्रियताको विषयमा चिनियाहरु एकमत हुनसक्छन् तर हामी त्यसमा पनि दलीय स्वार्थ घुसाउँछौं । दलीय स्वार्थको सिकार भएर नै मुलुक आर्थिक विकासमा पछि परेको हो । हाम्रो गरिबीको कारण हामै्र राजनीतिमा निहित छ । शान्ति प्रक्रिया समयमै पूरा गर्ने हो, निर्धारण अवधिमै संविधान निर्माण गर्ने हो, कङ्गाल, मुलुकलाई समृद्धिको शिखरमा पुर्‍याउने हो र जनताका अधिकार सुनिश्चत गरेर तिनलाई पनि यो महायज्ञमा सामेल गराउने हो भने हाम्रा नेताहरुले अमेरिकाको चुनावबाट पाठ सिक्नै पर्छ ।

के कुरामा असहमति राख्ने र असहमतिलाई कुनै बेला प्राथमिकता दिने, सहमतिका विषय के हुन् र तिनलाई कुन समयमा कसरी अघि बढाउनुपर्छ भन्ने ज्ञान शान्ति प्रक्रियामा रहेको हाम्रो मुलुकका नेतालाई अमेरिकी निर्वाचनले राम्ररी दिनसक्छ ।

हामी आर्थिक रुपले जति गरिब छौं सांस्कृतिक रुपले पनि त्यति नै दरिद्र देखिएका छौं । सामाजिक, राजनीतिक र सांस्कृतिकस्तर उठाएर मात्र हामीले समृद्धि हासिल गर्न सक्छौं । मुलुकको उन्नतिका लागि योजना, नीति कार्यक्रमको जति आवश्यकता पर्छ त्यसलाई कार्यान्वयन गर्न समझदारी र सुझबुझको पनि त्यति नै खाँचो पर्छ ।

-प्रभुनारायण बस्ने

श्रोत: विचार विवेचन, गोरखापत्र 

चेतल्याण्डको विचार

बास्तबमा नेपाली राजनितिज्ञहरु पनि नेपाली  नागरिक नै हुन् तर यिनीहरुले अमेरिकाको शैली र सिद्धान्तबाट केही नसिके पनि नेपाली जनताबाट नै सिक्नुपर्ने कुराहरु धेरै छन्। हिजो राणाशाषणको बिरुद्धमा उत्रि बिजय हासिल गर्ने हामी नेपाली नै   पंचायत शाषनलाई छेउ लगाएर बहुदलिय प्रजातन्त्रको स्थापना गर्दै  सयौं बर्षे पुरानो शाहबंशिय शाषनको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्न सफल भएका छौ जुन युद्ध नेपाली जनताको हित र नेपालको संरक्षणको लागी भएको हो र हुने पनि छ। नेपाली जनतालाई नेपालको त्यती माया  र ममता छ भने नेपाली प्रतिनिधिहरु किन अझै पनि घमण्डमा नै रुमलिरहेका होलान्?

Saturday, November 8, 2008

यो पनि जानी राखौ

विज्ञानका नया नया आविष्कारले हामीलाई सजिलो पारेको छ, त्यत्तिकै अप्ठेरो पनि पारेकै छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने अस्ट्रेलियाली युवामध्ये ७० प्रतिशतको श्रवणशक्ति ह्रास भएको कुरा त्यहाँ श्रवणशक्ति सम्बन्धमा हालै गरिएको सर्वेक्षणबाट पत्ता लागेको छ । उमेर ढल्किएकाहरूभन्दा पनि १८ देखि ३४ वर्ष उमेर भएका मानिसहरूको श्रवणशक्ति बढी क्षय भएको सर्वेक्षणले निष्कर्ष निकालेको छ । मोबाइल फोनबाट गीत-संगीत सुन्ने १,००० जना अस्ट्रेलियालीहरू माथि गरिएको सर्वेक्षणको क्रममा सो कुरा पत्ता लागेको हो । सर्वेक्षणका क्रममा सम्पर्कमा आएकामध्ये दुई तिहाइले आफूले मोबाइल फोनमार्फत गीत-संगीत सुन्ने गरेको जानकारी दिए । त्यसरी जानकारी दिनेमध्येमा ६० प्रतिशतले सुरक्षित भोलमभन्दा बढी भोलममा गीत-संगीत सुनेका थिए ।

मेवाको खेती नेपालमा धेरै हुन्छ । पाकेको मेवा मीठो हुनुका साथै रोगको उपचारमा पनि महìवपूर्ण हुन्छ । मेवामा 'पापेन' भन्ने पाचन क्रियामा सहयोग पुर्‍याउने तत्व पाइन्छ । यो तत्वले हामीले खाएका प्रोटिनलाई छिटो पचाउन सहयोग गर्छ । प्रोटिन पचाउन गार्‍हो हुने रोगीका लागि मेवा अत्यन्त लाभदायक हुन्छ । मेवामा चिनी तत्व कम हुन्छ भने चिल्लो तत्व ज्यादै थोरै हुन्छ । त्यसैले मधुमेहका रोगी र रक्तनलीमा बढी बोसो जमेका रोगीका लागि अमृत समान छ ।

त्यस्तै तर्बुजा पनि गर्मीमा बढी खाइने फलफूल हो । शरीरभित्रको गर्मी हटाउने गुण यसमा छ । गर्मी शरीर भएका मानिसले यो खानुपर्छ । तर्बुजामा भिटामिन ए, बी-१, बी-२, सी, ग्लुकोज, ग्लुटाभिक एसिड आदि तत्वहरू प्रशस्त पाइन्छ । तर्बुजाको गुण ठण्डा छ । बढी खाएमा बेफाइदा गर्छ । यो बढी खाएमा फियो र पाचन थैलीलाई हानि पुर्‍याउँछ । त्यसैले पाचन थैली र आन्द्राभुँडीका रोगी तथा मिर्गौलाका रोगी र सधैं पातलो दिसा हुने मानिसले तर्बुजा कम खानुपर्छ । रुघा लागेको बेला खानु हुँदैन । तातोपन हटाउने , गर्मी मार्ने, तीर्खा मेट्ने, पिसाब खुलाउने, पसिना हटाउने र उच्च रक्तचाप -हाइब्लड प्रेसर) का रोगीलाई निकै फाइदा गर्छ ।

हिमाल थापा

श्रोत : मुना

Wednesday, November 5, 2008

वाई.सी.एल र युथ फोर्सका कारण देश सङ्कटतर्फ

लम्की -कैलाली), कात्तिक १९ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सेना समायोजन गर्न गठन गरिएको विशेष समिति नेकपा -माओवादी ले एकलौटी रूपमा गठन गरेकोले नेपाली काङ्ग्रेस त्यसमा बस्न नचाहेको बताउनुभएको छ ।

मङ्गलबार लम्कीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाईसीएल र युथ फोर्सका कारण देश सङ्कटमा जान लागिरहेको आरोप लगाउँदै ती सङ्गठनमाथि तत्काल नियन्त्रण गरिनुपर्ने बताउनुभयो ।

प्रेस युनियन लम्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले काङ्ग्रेस सरकारबाहिर बसेको भए पनि बाढीपीडितहरूको पुनःस्थापनाका लागि भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसअघि कैलालीको नारायणपुर, धनसिंहपुरलगायतका बाढी प्रभावित गाविसको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

निरीक्षणका क्रममा संसद्मा बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना, पुनः निर्माणका लागि प्रस्तुत गरिएको सङ्कल्प प्रस्ताव पारित भइसकेर पनि कार्यान्वयन नभएको बताउँदै आफू राजधानी फर्केर कार्यान्वयनका लागि पहल गर्ने जानकारी दिनुभयो ।

बाढीपीडितका समस्याप्रति सरकार गम्भीर नभएको आरोप उहाँले लगाउनुभयो ।

श्रोत: गोरखापत्र

छिट्टै सुरु हुन्छ संविधान लेखन

काठमाडौँ, कात्तिक २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानसभा अब संविधान लेखन कार्यको थालनीको क्रममा पुगेको र अबको एकाध हप्तामा संविधान लेखन कार्यको थालनी हुने बताउनुभएको छ ।

नेपाल-जापान समन्वय परिषद्द्वारा राजधानीमा बुधबार आयोजित सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले अब बन्ने संविधान परम्परागत र औपचारिकता मात्र पूरा गर्ने खालको नभई गाउँ, सहर तथा विभिन्न जातजाति र समुदायको अपेक्षा र भावना प्रतिविम्बित गर्ने होस् भन्ने चाहेको बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्रीले सबैलाई समेट्ने समावेशी संविधान बनाउने काम त्यति सहज नभएको उल्लेख गर्दै समावेशी संविधान निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वमा नेपालप्रतिको आकर्षण यति धेरै कहिले पनि नबढेको उल्लेख गर्दै नेपालप्रति विश्वको आँखा यति धेरै पर्नु नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि प्रेरणा र दबाब दुवै भएको बताउनुभयो ।

उहाँले नेपाल-जापानबीचको सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट गर्दै नेपालको विकास र शान्ति प्रक्रियामा जापानले खुला हृदयले सहयोग गरेको र नयाँ नेपाल निर्माणमा आफूहरूले जापानबाट विगतको भन्दा अझ बढी सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सो कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई सो परिषदबाट प्रदान गरिएको सम्मान प्रधानमन्त्रीले प्रदान गर्नुभएको थियो ।

सो अवसरमा मन्तव्य व्यक्त गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेपालमा विगतलाई हेर्ने हो भने राजनीतिक दलहरूको एकताले नै निकै ठूला अप्ठ्याराहरू पार लगाएको उल्लेख गर्दै अहिले पनि एकताबद्ध भएर समस्याहरूलाई किनारा लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले अहिले नेपालमा भएको परिवर्तन र शान्तिका लागि सबै क्षेत्रबाट बधाइको ओहिरो लागेको उल्लेख गर्दै अहिले नै आफूहरूले पूरै बधाई थाप्ने बेला नभइसकेको र तोकिएको मितिमा संविधान लेखन कार्य सम्पन्न भएमा मात्र पूर्णरूपमा बधाई थाप्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपालले आर्थिक कूटनीतिलाई सफल र सबल बनाई जलस्रोत, पर्यटन, व्यापार र श्रम शक्तिको उपयोगजस्ता क्षेत्रमा यसलाई प्रयोग गरिने पनि सो अवसरमा जानकारी गराउनुभयो ।

उहाँले विगतमा भएको जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनले देशलाई नयाँ युगमा प्रवेश गराएको र अहिले देश समावेशीकरणको दिशामा अगाडि बढेको बताउनुभयो ।

सो कार्यक्रममा नेपालका लागि जापानी राजदूत तात्सु मिजुनोले नेपाल अहिले नयाँ युगमा रहको र नेपालमा आर्थिक विकास र सम्मुन्नतिको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।


श्रोत : गोरखापत्र

Saturday, October 18, 2008

गणतन्त्रभित्र श्री ५ महाराजाधिराज

मुलुकमा गणतन्त्र स्थापनाको झण्डै पाँच महिना बितिसक्यो, तर सरकारी संयन्त्रले गणतन्त्रलाई पूर्णरूपेण आत्मसात् गरेको अनुभूति हुँदैन । राजतन्त्रको युग समाप्त भएको जानकारी कर्णालीवासीले पाए पनि स्वयं सरकार भने अनभिज्ञ रहेको आभास पाउन थालिएको छ । गणतन्त्र नेपालको आधारभूत पक्ष भनेको राजतन्त्रको समूल नष्ट हुनुपर्छ भन्ने हेक्का सरकारी संयन्त्रलाई नहोला भन्नु आफ्नै अज्ञानता ठहर्न सक्छ । खासगरी, सरकारले पूर्व राजपरिवारका नाममा रहेका सबै खाले सम्पत्ति राष्ट्रियकरण गर्ने निर्णय अब नौलो कुरा रहेन । करिब एक वर्ष अघि नै नेपाल सरकारले यस्तो निर्णय गरिसकेको हो, तर अहिले सरकारी स्रेस्तामा भने त्यसको पालना भएको देखिंदैन । मुलुकभरि कायम पूर्व राजपरिवारका नामका जायजेथा अहिले पनि पूर्व अवस्थामै रहेको समाचारले सरकारी संयन्त्रको तत्परता र जिम्मेवारीको खिल्ली उडाएको छ । पूर्व राजा ज्ञानेन्द्र र उनका परिवारका नाममा रहेका सरकारी सम्पत्तिको मोठ, स्रेस्ता र नापी फिल्डबुकमा स्वामित्व परिवर्तन नहुनुको कारण के हो ? आमजनताले प्रश्न तेस्र्याउने अवस्था निर्माण भएको छ । अहिले पनि सरकारले राष्ट्रियकरणको घोषणा गरिसकेका यस्ता सम्पत्तिको स्वामित्व र कागजात पूर्व राजपरिवारसागै रहेको तथ्य प्रकाशमा आएको छ ।

मुलुकभरि हजारौं रोपनी जग्गाको लालपूर्जामा

'श्री ५ महाराजाधिराज' भन्ने शब्द कायमै रहनु आफैामा कमजोरी त हुँदै हो, अपितु यस्तो गम्भीर प्रकृतिको लापरवाही सच्याउन सरकारी तवरबाट कुनै पहल नहुनु चाहिं बिडम्बना हो । विभिन्न नियम कानुनको अड्चन तेस्र्याएर हुने कुतर्कले आमजनताको भावना र चाहनामाथि बज्रपात भएको छ । कानुनी तवरमा अहिले पनि ती सबै सम्पत्तिका स्वामी पूर्व राजपरिवार हुने र चाहेमा बेचबिखन समेत गर्नसक्ने देखिन्छ । यस्तो आमजनताको भावनासाग गाासिएको विषय सरकारी संयन्त्रको प्राथमिकता सूचीमा पर्न नसक्नु दुःखद सन्दर्भ हो । नेपाल सरकार मालपोत वा गुठी संस्थानले यो सन्दर्भमा आवश्यक काम गर्नुभन्दा विभिन्न कानुनी अड्चनको आडमा पन्छाउन खोज्नुलाई सहजतापूर्वक लिन सकिन्न । यसभित्र गलत मनसाय लुकेको हुनसक्ने आशङ्कालाई विल्कुलै नजरअन्दाज गर्न किमार्थ सकिन्न । भ्रष्ट वा गलत नियत भएका कर्मचारीसागको मिलोमतोमा स्वामित्व हस्तान्तरणको संभावना रहने अवस्था निर्मूल नभएसम्म वास्तविक रूपमा गणतन्त्रको आभास मुलुक र मुलुकवासीले गर्न सक्दैनन् । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने पुरानो नेपालको परम्परा 'अद्यापि कायमै छ । राज्य पुनर्संरचनाको पक्षमा गतिला भाषण ठोक्ने राजनीतिक नेतृत्व यसलाई व्यवहारमा उतार्न भने किन सुस्ताएका हुन् ? बुझिनसक्नु छ । सरकारले राष्ट्रियकरण गर्ने भनी घोषणा गरेका जायजेथाको यथार्थ विवरण र संशोधनको औपचारिक पत्र नआएको तर्कको आडमा सरकारी कर्मचारी पन्छने काम उचित हुनैसक्दैन । सरकारले गरेका निर्णयहरूलाई कार्यान्वयनको तहमा पुर्‍याउने महत्त्वपूर्ण संयन्त्र नै यस्ता कुतर्कमा अल्झिने हो भने नयाँ नेपाल निर्माण गफमा मात्रै सीमित हुनेछ ।

पूर्व राजपरिवारको नामका सम्पत्ति राष्ट्रियकरण भए भनेर दङ्ग आम नेपालीलाई यो भन्दा ठूलो पीडा के होला कि ती सबै सम्पत्तिको आयस्ता अहिलेसम्म सरकारी ढुकुटीमा पुगेको छैन भन्ने सुन्नुपर्दा । 'श्री ५ महाराजाधिराज' नाममा दर्ता कायम सबै श्रीसम्पत्तिको आयस्ता उतै जाने गरेको छ । यसलाई जनता बेवकुफ बनाउने खेल भन्दा अनुपयुक्त होला ? त्यसैले दशक लामो सशस्त्र युद्ध र हजारौं नेपाली आमाका सपूतहरूको आहुतिको बलमा स्थापित गणतन्त्र नेपालको क्रान्तिकारी सरकारले यस्तो गम्भीर लापरवाहीको घटनालाई कसरी सच्याउने हो, व्यग्रतापूर्वक प्रतीक्षा गर्नु नै अहिले उचित होला । यो एउटा प्रतिनिधि घटना मात्र हुनसक्छ । सरकारी संयन्त्रले यसै खाले अन्य त्रुटि पनि हुनसक्ने सम्भावना ध्यानमा राखी बेलैमा सच्चिने प्रयत्न गर्नु अत्युत्तम होला ।

श्रोत : गोरखापत्र

Wednesday, October 15, 2008

शान्ति भए पुजी भित्रिन्छ

काठमाडौं, असोज २९ गते । परराष्ट्रमन्त्री उपेन्द्र यादवले माओवादी जनसेनालाई नेपाली राष्ट्रिय सेनामा समायोजन नगरी दोस्रो माध्यमबाट व्यवस्थापन गरिनुपर्ने धारणा राख्नुभएको छ ।

संयुक्त राज्य अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको मदरल्यान्ड नेपाल नामक संस्थाले बुधबार काठमाडौंमा आयोजना गरेको 'शान्ति निर्माण प्रक्रियामा प्रवासी नेपालीको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले दिगो शान्ति स्थापना निम्ति माओवादी सेनाको व्यवस्थापन छिटो गरिनुपर्ने आवश्यकता रहेको औंल्याँउदै राजनीतिक लक्ष्यका लागि तयार गरिएको माओवादी सेनालाई राष्ट्रिय सेनामा मिसाउँदा अन्तर्राष्ट्रियस्तरमा नै शङ्का उत्पन्न गर्ने हुँदा अन्य विकल्पहरु खोजी व्यवस्थापन गरिनुपर्दछ भन्नुभयो ।
उहाँले भन्नुभयो- माओवादी जनसेनालाई अवसरहरु उपलब्ध गराउनुपर्दछ । पढ्न चाहनेलाई निःशुल्क शिक्षाको व्यवस्था र वैदेशिक रोजगारीमा जान चाहनेलाई निःशुल्क प्राविधिक तालिम उपलब्ध गराएर रोजगारीमा पठाउने व्यवस्था मिलाउँदै व्यवस्थापन गरिनुपर्दछ भन्ने मेरो मान्यता हो । त्यसका अलवा औद्योगिक सुरक्षा बल निर्माण गरेर पनि व्यवस्थापन गर्न सकिन्छ । सक्षम र मापदण्डभित्र परेकाहरुलाई भने नेपाली सेनामा पनि लान सकिन्छ तर समायोजन भनेर सबैलाई लगिनु हुँदैन ।

प्रधानमन्त्री प्रचण्डले विभिन्न अन्तर्राष्ट्रिय फोरमहरुमा माओवादी जनसेनालाई राष्ट्रिय सेनामा नमिलाई समायोजन गरिने धारणा राख्नुभएको जनाउँदै मन्त्री यादवले नेपाली सेनाको विश्वसनीयता कायम गराउन पनि माओवादी सेनालाई राष्ट्रिय सेनामा मिसाउन नहुने बताउनुभयो ।

सोही अवसरमा उहाँले नेपाल सम्पन्न भए मात्र प्रवासी नेपालीहरुको पनि विदेशमा इज्जत हुने बताउँदै नेपालमा पूँजी र प्रविधिको अभाव रहेको हुनाले प्रवासी नेपालीहरुले समृद्ध नेपाल निर्माणका लागि सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन द्वन्द्व व्यवस्थापन र आर्थिक विकासको प्रक्रियालाई एकैसाथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याउँदै उहाँले समृद्ध लोकतान्त्रिक नेपाल भनेको पूर्ण सुरक्षाको प्रत्याभूतिसहितको आर्थिक तथा सामाजिक विभेदरहित नेपाल हो भन्नुभयो ।

'चन्दा आतङ्क, धाक धम्की, लुटपाट तथा हत्या, हिंसा रहेसम्म शान्ति स्थापना भएको मान्न सकिंदैन । हामी सबै असुरक्षाको वातावरणको अन्त्य सागै आर्थिक विकास चाहन्छौं र विदेशीले पनि प्रजातान्त्रिक र समृद्ध नेपाल हेर्न चाहेका छन् । शान्ति स्थापना नभएसम्म विदेशी पूँजी भित्रने सम्भावना नहुने हुँदा प्रवासी नेपालीहरूले पनि शान्ति स्थापना र आर्थिक विकासका साथै संविधान निर्माणका लागि सहयोग गर्नुपर्दछ, उहाँले भन्नुभयो ।

शान्ति स्थापना भएमा आर्थिक क्रान्तिका लागि समय नलाग्ने जनाउदै परराष्ट्रमन्त्री यादवले सशस्त्र क्रान्तिमा लागेकाहरुलाई शान्ति प्रक्रियामा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले विदेशमा पनि प्रवासी नेपालीहरूले आफ्नो संस्कृतिको संरक्षण निम्ति विभिन्न कार्यहरु गरिरहेको बताउँदै प्रवासी नेपालीहरु नेपालको समृद्धि निम्ति कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।

विदेशबाट नेपालीहरूले पठाएको रेमिट्यान्सलाई व्यवस्थित रुपमा राष्ट्रनिर्माण निम्ति प्रयोग गर्न नया व्यवस्था गर्न प्रधानमन्त्रीसाग सल्लाह परामर्स गरिएको जनाउदै उहाँले द्वन्द्वपीडित तथा प्राकृतिक प्रकोपबाट पीडितहरुका निम्ति मदरल्यान्ड नेपालले सहयोग गर्दै आएको बताउनुभयो ।

श्रोत : गोरखापत्र

चेतल्याण्डको विचार:
नेपाल राष्ट्रको सुरक्षाको लागी कसम खाएर नेपाली सेनामा भर्ती भएका सेनाहरुले त क्याम्पभित्र आन्दोलन मच्चाउने जस्ता अनैतिक र लाजमर्दो ब्यबहार देखाउन लागेका छन् भने राजनैतिक कारणले आफ्नो पार्टीलाई मजबुद बनाउन लागेका माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने हो भने ती माओवादी सेनाले आफ्नो पार्टीको सुरक्षा गर्लान की देश र जनताको सुरक्षा गर्लान भन्ने शङ्का लाग्नुका साथसाथै अझै पनि हिजोको नै ब्यबहार देखाइराखेका माओवादी सेना लगायत वाइ सि एललाई राष्ट्रको जिम्मा दिनु हुन्न भन्ने लाग्छ।

जिम्मेवारी दिने हैन

परिवर्तन आईसकेको छ, प्रजातन्त्र आईसकेको छ
गणतन्त्र आईसकेको छ, राष्ट्रपती भईसकेको छ।
हराउने हराईसकेका छन्, ज्यान गुमाउनेले गुमाईसकेका छन्
भागबण्डा भईसकेका छन्, कुर्ची घुमाईसकेका छन्।

अब त आउना बाँकी हैन हुन बाँकी छन्
जनताहरु लडेर, भिडेर र रोएर थाकिसकेका छन्।
अब त प्रगती र विकाश हुनुपरेको छ
काला, मैला र धमिला नितीहरुलाई सफासँग धुनुपरेको छ।

अब त बाटोघाटो र पिउने पानीको खाँचो छ
आउनुहोस, अगाडि बढौं, ढोका खोल्न लिनुपर्छ साचो।
जिम्मेवारी दिने हैन लिने व्यक्तिको खाँचो छ
तपाई हामीले गर्‌यौं भने विकाश हैन अति बिकाश हुने कुरा साँचो छ।
हाँसौं र हसाऔं भन्ने अभियानले बढौं अगाडि
झन झन तिब्र गतीमा बढौं अगाडि, छैन फाईदा फर्की फर्की हेरेर पछाडि।।